वर्षाले देशका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ ।
नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै सडक खण्ड अवरुद्ध हुँदा यात्रामा कठिनाइ भएको छ। केही स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडक एकतर्फी सञ्चालनमा छन्।
बाढीको जोखिमका कारण केही राजमार्गमा रातिको समयमा सवारी आवागमनसमेत रोकिएको छ। कोशी प्रदेशमा इलामको मेची राजमार्गअन्तर्गत राजदुवाली खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।
पाँचथरको राँके–रवि–भेडेटार सडक पनि बन्द रहेको छ। भोजपुर र खोटाङमा मध्यपहाडी लोकमार्ग भने पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा सुरक्षा जोखिमलाई ध्यानमा राख्दै केही राजमार्गमा समय तोकेर सवारी सञ्चालन रोकिएको छ। काभ्रेस्थित विपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र मकवानपुरस्थित कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत जिरोकिलो–कोदारी खण्ड पूर्ण रूपमा अवरुद्ध छ भने रसुवाको पासाङ ल्हामु सडक एकतर्फी सञ्चालनमा छ।
गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्। कर्णाली प्रदेशको जाजरकोटस्थित भेरी करिडोर (जाजरकोट–डोल्पा सडक) पनि पहिरोले अवरुद्ध भएको छ।
सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षाका कारण काममा कठिनाइ भइरहेको छ। प्रहरीले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा राजमार्ग नियन्त्रण कक्षबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।







