विद्यार्थीमाथिको बल प्रयोगप्रति मोदीले माफी माग्नुपर्छ : राहुल गान्धी

User Image Prime TV News ७ घण्टा अगाडि
Image of विद्यार्थीमाथिको बल प्रयोगप्रति मोदीले माफी माग्नुपर्छ : राहुल गान्धी

काठमाडौ । भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभाका प्रतिपक्ष नेता राहुल गान्धीले प्रदर्शनमा सहभागी विद्यार्थीमाथि भएको कुटपिटको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै गान्धीले विद्यार्थीसँग सम्बन्धित विषयमा संसदमा छलफल हुन नदिन सरकारले प्रयास गरिरहेको आरोप लगाए। उनका अनुसार विपक्षी दलले लोकसभा सभामुखसँग विद्यार्थीका माग र समस्याबारे संसदमा छलफल गराउन अनुरोध गरेको थियो।

तर सभामुखले त्यसका लागि सरकारको सहमति आवश्यक रहेको जानकारी गराएको उनले बताए। राहुल गान्धीले विद्यार्थीमाथि बल प्रयोग भएको घटनालाई गम्भीर भन्दै प्रधानमन्त्री मोदीको मौनताप्रति पनि प्रश्न उठाए। “यो विद्यार्थीहरूको भविष्यसँग जोडिएको गम्भीर विषय हो। उनीहरूमाथि कुटपिट भइरहेको छ, जुन पूर्ण रूपमा गलत हो। प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे अहिलेसम्म माफीसमेत माग्नुभएको छैन,” उनले भने।

उनले आन्दोलनरत विद्यार्थीहरू ध्वस्त बन्दै गएको शिक्षा व्यवस्था र परीक्षा प्रणालीविरुद्ध आवाज उठाइरहेको दाबी गर्दै उनीहरूमाथिको बल प्रयोग तत्काल रोक्न सरकारसँग माग गरे। गान्धीले घटनाको जिम्मेवारी केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको नभई गृहमन्त्रीको मातहतमा रहेको सुरक्षा संयन्त्रको भएको दाबी गर्दै गृहमन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग पनि गरे।

यसपछि राहुल गान्धी प्रदर्शनका क्रममा घाइते भएकाहरूको अवस्था बुझ्न नयाँ दिल्लीस्थित राम मनोहर लोहिया (आरएमएल) अस्पताल पुगेका थिए। उनले उपचाररत घाइते विद्यार्थी तथा प्रदर्शनकारीसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।