सेयर बजार लगातार छैटौं दिन बढ्यो, नेप्से २७२६ अंकमा पुग्यो
Prime TV News ८ घण्टा अगाडि 
काठमाडौ । नेपाली सेयर बजार लगातार छैटौं कारोबार दिन पनि बढेको छ।
मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६ अंकमा कायम भएको छ। यो स्तर जेठ २८ गतेयताकै उच्च हो। गत साताको मंगलबार, बुधबार, बिहीबार र शुक्रबार पनि बजार उकालो लागेको थियो भने सोमबार नेप्से ४१.७० अंकले बढेको थियो।
मंगलबार कारोबार अवधिमा बजारमा केही उतारचढाव देखिएको थियो। दिउँसो १२:४९ बजे नेप्से २७५३ अंकसम्म पुगेको थियो। आज १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको घटेको छ। १२ कम्पनीको मूल्य भने स्थिर रह्यो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। समूहतर्फ मिश्रित अवस्था देखिएको छ।
व्यापार समूह सबैभन्दा धेरै २.८८ प्रतिशतले बढेको छ। त्यस्तै अन्य समूह १.२० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६४ प्रतिशत, लगानी ०.४९ प्रतिशत र बैंकिङ समूह ०.०९ प्रतिशतले बढेका छन्। यता विकास बैंक ०.४० प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, होटल तथा पर्यटन ०.२३ प्रतिशत, जलविद्युत् ०.०५ प्रतिशत, जीवन बीमा ०.१७ प्रतिशत, माइक्रोफाइनान्स ०.०२ प्रतिशत र निर्जीवन बीमा समूह ०.१४ प्रतिशतले घटेका छन्।
हालै सूचीकृत भएको एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै कालंगा हाइड्रोपावर ७.५० प्रतिशत, बोटलर्स नेपाल बालाजु ७.४२ प्रतिशत, सानीगढी हाइड्रोपावर ६.५६ प्रतिशत, स्नो रिभर्स ६.०२ प्रतिशत र रिडी पावर ५.३४ प्रतिशतले बढेका छन्।
घट्ने कम्पनीमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको ६.५४ प्रतिशत, भुजुङ हाइड्रोपावरको ४.५८ प्रतिशत र चिरख्वा हाइड्रोपावरको ४.४४ प्रतिशतले मूल्य घटेको छ। कारोबार रकमका आधारमा रिडी पावर, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर धेरै कारोबार भएका कम्पनीमा परेका छन्।







