जनकपुरमा हर्क साम्पाङका समर्थक र हिन्दु सम्राट सेनाबीच तनाव

User Image Prime TV News ७ घण्टा अगाडि
Image of जनकपुरमा हर्क साम्पाङका समर्थक र हिन्दु सम्राट सेनाबीच तनाव

जनकपुर । जनकपुरधाम स्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच मंगलबार तनाव भएको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेकाले स्वागतका लागि पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेको जनाइएको छ।

हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा गाईको मासु खाने सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिएको थियो। घटनापछि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै, “गाई कसले खाएको रैछ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ? जय जानकी मन्दिर!” लेखेका छन्।

त्यसअघि उनले अर्को स्टाटसमा “जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ!” भन्दै जनकपुरमा विवाद भएको उल्लेख गरेका थिए। उनले पुराना अभिव्यक्ति र धार्मिक विषयलाई लिएर विवाद सिर्जना गरिएको दाबी गर्दै आफ्ना पार्टीका कार्यकर्तालाई संयमित रहन पनि आग्रह गरेका छन्।