इरानमाथि अमेरिकाको लगातार हवाई आक्रमण, कुवेतस्थित अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार
Prime TV News १२ घण्टा अगाडि 
काठमाडौ । अमेरिकाले लगातार १०औँ रात पनि इरानका दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार सिरिक, बन्दर अब्बास, केश्म टापु, चाबहार र कोनार्कलगायत क्षेत्रमा शक्तिशाली विस्फोट भएका छन्। अमेरिकी सेन्ट्रल कमान्डले जुलाई २० को रात इरानविरुद्ध १० चरणको सैन्य अभियान सञ्चालन गरिएको जनाएको छ।
अमेरिकी समयअनुसार राति ९ बजेदेखि सुरु भएको उक्त अभियानमा इरानका सैन्य कमान्ड सेन्टर, नौसैनिक पूर्वाधार, मिसाइल तथा ड्रोन प्रक्षेपणस्थल र हवाई रक्षा प्रणालीलाई निसाना बनाइएको अमेरिकी पक्षले जनाएको छ।
यसैबीच, इरानले कुवेतस्थित अमेरिकी सैन्य अखडामा तैनाथ एचआईएमएआरएस मिसाइल प्रणालीमाथि मिसाइल प्रहार गरिएको दाबी गरेको छ। इरानी सेनाका अनुसार ‘अपरेसन साएकेह’को १८औँ चरणअन्तर्गत कुवेतको क्याम्प अरिफजानमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै आक्रमण गरिएको हो।
इरानी सेनाले उक्त आक्रमणबाट एचआईएमएआरएस प्रणालीमा क्षति पुगेको र त्यसका कारण अमेरिकी सेनाको आक्रामक तथा प्रतिरक्षात्मक क्षमता प्रभावित भएको दाबी गरेको छ। त्यसैगरी, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले कुवेतस्थित अहमद अल–जाबेर एयर बेसमा रहेका अमेरिकी सैन्य प्रणालीमाथि पनि आक्रमण गरिएको जनाएको छ।
तस्निम समाचार एजेन्सीका अनुसार उक्त आक्रमणमा अर्ली वार्निङ रडार, मिसाइल प्रतिरक्षा रडार, एफपीएस–११७ रडार, प्यट्रियट हवाई रक्षा प्रणाली तथा हवाई रक्षा स्याटेलाइट सञ्चार प्रणाली ध्वस्त पारिएको दाबी गरिएको छ।
यद्यपि, अमेरिकी पक्षले इरानका यी दाबीको पुष्टि गरेको छैन। स्वतन्त्र स्रोतबाट पनि ती दाबीहरूको पुष्टि हुन बाँकी छ। यसैबीच, इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गरेका छन्। उनीहरूले बाब–अल–मन्देब जलमार्ग साउदी जहाजका लागि बन्द गरिने जनाउँदै साउदीसँग सम्बन्धित सबै जहाज आफ्नो निसानामा रहने चेतावनी दिएका छन्।
लालसागरको प्रवेशद्वार मानिने बाब–अल–मन्देब जलमार्ग विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। विश्वव्यापी समुद्री व्यापारको करिब १० प्रतिशत आवागमन यही जलमार्ग हुँदै हुने गर्छ।







