१५औँ महाधिवेशनका लागि कांग्रेसभित्र संवाद तीव्र, सकारात्मक निष्कर्ष निस्कने विश्वप्रकाश शर्माको विश्वास
Prime TV News १५ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै नेतृत्व तहमा निरन्तर संवाद र छलफल भइरहेको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनमा सबै सदस्यको सहज सहभागिता सुनिश्चित गर्ने उद्देश्यले पार्टीभित्र सकारात्मक वातावरण निर्माणका लागि छलफल भइरहेको जानकारी दिए।
शर्माले पार्टी नेतृत्व, सभापति गगनकुमार थापा तथा अन्य नेताहरूबीच आन्तरिक विषयमा निरन्तर संवाद भइरहेको उल्लेख गर्दै महाधिवेशनलाई सर्वस्वीकार्य र सहभागितामूलक बनाउने प्रयास जारी रहेको बताए।
“नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण सहज बनाउने उद्देश्यले नेतृत्व तहमा संवाद र छलफल भइरहेका छन्,” उनले भने। उनले जारी छलफल सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्दै पार्टीको आन्तरिक एकता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने दिशामा नेतृत्व केन्द्रित रहेको बताए।
पत्रकार सम्मेलनको प्रारम्भमै शर्माले पार्टीभित्रको आन्तरिक जीवनबारे उठेका जिज्ञासाको जवाफ दिँदै नेतृत्व तहमा आपसी समझदारी कायम गर्न निरन्तर प्रयास भइरहेको र त्यसले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे।
यस्तै उनले प्रदेश सरकारको गठन वा पुनर्गठन गर्दा कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन हुने अवस्था स्वीकार्य नहुने बताएका छन्। “प्रदेश सरकार बन्दै र हेरफेर हुँदै गर्दा हामी प्रतिपक्षविहीन परिकल्पना नगरी निष्कर्षमा पुग्न चाहन्छौं,” शर्माले भने, “आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न पनि तयार छ। तर नागरिकको मनोविज्ञानविपरीत सबै दल सरकारमै बस्नुपर्छ भन्ने हाम्रो धारणा होइन।”
उनले प्रदेश सरकारसम्बन्धी विषयमा विभिन्न दलबीच संवाद भइरहेको र सहअस्तित्वको आधारमा समाधान खोज्ने प्रयास जारी रहेको बताए। शर्माका अनुसार प्रदेश सरकारमा देखिएका राजनीतिक जटिलताबारे सार्वजनिक टिप्पणीभन्दा पनि नेतृत्व तहमा आन्तरिक छलफललाई प्राथमिकता दिइएको छ ।







