नेप्सेमा लगातार दोस्रो दिन उत्साह, परिसूचक ४१.७० अंकले उकालो
Prime TV News १७ घण्टा अगाडि काठमाडौ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ।
सोमबार नेप्से ४१.७० अंक अर्थात् १.५५ प्रतिशतले बढेर २७१९.२४ विन्दुमा पुगेको छ। आज ३४३ कम्पनीका १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। नेप्सेका अनुसार २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। आज सर्वाधिक बढ्ने कम्पनीमा एभरेस्ट कलर लिमिटेड रहेको छ।
कम्पनीको सेयर मूल्य १४.९७ प्रतिशतले वृद्धि हुँदै प्रतिकित्ता ३७२.४० रुपैयाँ पुगेको छ। त्यसैगरी रिजलाइन इनर्जीको सेयर मूल्य १४.६४ प्रतिशत र श्रीनगर एग्रो इन्डस्ट्रिजको १०.९५ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको २९ करोड १५ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्स र रिडी हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
पछिल्ला दुई कारोबार दिनमा नेप्सेमा उल्लेख्य सुधार देखिएको छ। गत शुक्रबार परिसूचक ७९.७४ अंकले बढेको थियो भने सोमबार थप ४१.७० अंकको वृद्धिसँगै दुई दिनमै नेप्से १२१.४४ अंकले उकालो लागेको छ।
बजारमा आएको सुधारलाई लिएर विभिन्न विश्लेषण भइरहेका छन्। यद्यपि सेयर बजारको उतारचढावमा नीतिगत निर्णय, लगानीकर्ताको मनोबल, आर्थिक अवस्था तथा बजारका अन्य विभिन्न कारकले संयुक्त रूपमा प्रभाव पार्ने गर्छन्।







