केन्द्रको निर्देशन नआएसम्म बागमती सरकार नछाड्ने एमालेको निर्णय

User Image Prime TV News १७ घण्टा अगाडि
Image of केन्द्रको निर्देशन नआएसम्म बागमती सरकार नछाड्ने एमालेको निर्णय

काठमाडौ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले पार्टीको केन्द्रबाट औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने निर्णय गरेका छन्।

सोमबार काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले बदलिँदो राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै तत्काल सरकार छाड्ने कुनै निर्णय नगर्ने निष्कर्ष निकालेको हो। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले अहिले सरकारबाट बाहिरिने विषयमा कुनै औपचारिक निर्णय नभएको बताए।

उनका अनुसार केन्द्रको निर्देशन र अन्य राजनीतिक दलसँगको छलफलपछि मात्रै आगामी रणनीति तय गरिनेछ। “हरेक दिन नयाँ राजनीतिक परिस्थिति विकसित भइरहेको छ। त्यसैले अहिले नै सरकार छाड्ने वा रहने भन्ने निर्णय गरिएको छैन,” थपलियाको भनाइ उद्धृत गर्दै बैठकपछि जानकारी दिइएको छ।

बैठकमा सहभागी बागमती प्रदेशका कृषि, पशुपन्छी तथा वातावरणमन्त्री मधुसूदन पौडेलले पनि पार्टी नेतृत्वबाट स्पष्ट निर्देशन नआएसम्म एमालेका मन्त्रीहरू सरकारमै रहने बताए। पछिल्ला दिनमा सामूहिक राजीनामाको चर्चा चले पनि त्यससम्बन्धी कुनै आधिकारिक निर्णय नभएको उनको भनाइ छ।

उनका अनुसार हालका लागि नेपाली कांग्रेससँगको सत्ता सहकार्य यथावत् रहेको छ। केन्द्रमा विकसित राजनीतिक घटनाक्रमलाई पार्टीले नजिकबाट नियालिरहेको र त्यसको प्रभाव प्रदेश सरकारमा पर्ने विषयमा नेतृत्व तहमा छलफल जारी रहेको उनले बताए।

मन्त्रालय पुनर्सरचना, कार्यविभाजन तथा बिना विभागीय मन्त्रीहरूको व्यवस्थापनलगायत विषयमा पनि पार्टीको माथिल्लो तहमा छलफल भइरहेको जनाइएको छ। पार्टीबाट औपचारिक निर्देशन प्राप्त भएपछि मात्रै आवश्यक निर्णय कार्यान्वयन गरिने र त्यसअघिसम्म सरकारका नियमित कामलाई निरन्तरता दिइने एमालेले जनाएको छ।

केन्द्रमा सत्ता समीकरणबारे विभिन्न अड्कलबाजी भइरहेका बेला बागमती प्रदेशमा पनि राजनीतिक चासो बढेको छ। यद्यपि एमालेले केन्द्रको औपचारिक निर्णय नआएसम्म सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने कुनै कदम नचाल्ने स्पष्ट संकेत दिएको छ।