ज्ञानेन्द्र शाहीको अभिव्यक्तिको जेनजी अभियन्ता मिराज ढुंगानाद्वारा बचाउ
Prime TV News १८ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा रास्वपा समर्थकहरूप्रति दिएको आक्रोशित अभिव्यक्तिको जेनजी अभियन्ता मिराज ढुंगानाले बचाउ गरेका छन्।
लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक पदमा रहेका व्यक्तिको मर्यादाबारे चर्चा गर्दै ढुंगानाले शाहीको प्रतिक्रियालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका हुन्। उनका अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले जनताको जायज आलोचनालाई सुधारका रूपमा लिनुपर्ने भए पनि आधारहीन आरोप र निरन्तर आलोचनाले कहिलेकाही भावनात्मक प्रतिक्रिया आउन सक्ने अवस्था रहन्छ।
ढुंगानाले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “म आफू लोकतन्त्रलाई एकदमै मान्ने मान्छे हुँ। म पदमा हुँदा मर्यादामा बस्नुपर्छ भन्ने मान्छे हुँ। जनताको प्रतिनिधि हुँदा र नेता भएपछि जनताको जायज गालीलाई सुधारोन्मुख तरिकाले लिनुपर्छ भन्ने मान्छे हुँ। तर अन्त्यमा, म एउटा मान्छे पनि हुँ।”
उनले शाहीले आफ्नो लाइभमा आएका आधारहीन आरोपको प्रतिवाद गर्ने क्रममा दिएको प्रतिक्रियालाई सधैँका लागि उचित मान्न नसकिने भए पनि यसपटक त्यसलाई अन्यथा लिन नहुने धारणा राखेका छन्। “राप्रपाका माननीयज्यूले जस्तो प्रतिक्रिया आफ्नो लाइभमा आफूविरुद्ध आएका आधारहीन कुराहरूको जवाफमा दिनुभयो, सायद सधैँ यस्तो कुरा सुहाउँदो नहोला। तर उहाँको जस्तो प्रतिक्रिया आयो, यसपालि म यसलाई अन्यथा लिँदिनँ,” ढुंगानाले उल्लेख गरेका छन्।
सामाजिक सञ्जालको वातावरण र त्यहाँ आउने टिप्पणीले मानिसलाई सधैँ संयमित रहन कठिन बनाउने भन्दै उनले कहिलेकाहीँ भावनात्मक प्रतिक्रिया आउन सक्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा हुने बहसलाई मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आलोचना र प्रतिवाद दुवै जिम्मेवार ढंगले हुनुपर्ने धारणा राखेका छन्।






