शुक्लाफाँटा निकुञ्जमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी अभियान जारी

User Image Prime TV News २२ घण्टा अगाडि
Image of शुक्लाफाँटा निकुञ्जमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी अभियान जारी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएपछि सम्पर्कविहीन भएका छन्।

उनीहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोली परिचालन गरिएको छ। प्रहरीका अनुसार महिलाहरू आइतबार बिहान करिब ११ बजे पाँच र नौ जनाको दुई समूहमा निकुञ्जभित्र प्रवेश गरेका थिए। साँझसम्म घर नफर्किएपछि परिवारका सदस्य तथा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार सम्पर्कविहीन हुनेमा सविता चौधरी, सानु चौधरी र सुमित्रा सुनारलगायत रहेका छन्। अन्य महिलाको विवरण संकलन गरी परिवारबाट प्रमाणित गर्ने प्रक्रिया जारी रहेको उनले बताए।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार महिलाहरू च्याउ खोज्ने क्रममा निकुञ्जको भित्री क्षेत्रमा पुगेर बाटो बिराएको हुन सक्छ। उनीहरूसँग हालसम्म कुनै सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ। खोजी अभियानको नेतृत्व गर्न डीएसपी राउत स्वयं घटनास्थल पुगेका छन्।

प्रहरी निरीक्षक नेत्रमणि गिरीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले निकुञ्जका विभिन्न क्षेत्रमा खोजी कार्यलाई तीव्र बनाएको छ। यसैबीच, बेलडाँडी गाउँपालिकाका तीन जना महिला पनि आइतबारदेखि सम्पर्कविहीन भएका थिए। उनीहरू भने सोमबार बिहान सकुशल सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

प्रहरीले सम्पर्कविहीन १४ महिलाको खोजी कार्य जारी रहेको र थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने जनाएको छ।