विश्वकप फाइनलपछि भावुक बने स्कालोनी

User Image Prime TV News २२ घण्टा अगाडि
Image of विश्वकप फाइनलपछि भावुक बने स्कालोनी

काठमाडौ । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनी पत्रकार सम्मेलनमा भावुक बनेका छन्।

भविष्यबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनी आँसु रोक्न नसकी पत्रकार सम्मेलन बीचमै छाडेर बाहिरिएका हुन्। अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप उपाधि जित्ने सपना समाप्त भएको थियो।

सन् २०२२ मा कतार विश्वकप जिताएका स्कालोनी यसपटक पनि टोलीलाई उपाधिसम्म पुर्‍याउने लक्ष्यमा थिए, तर अन्तिम बाधा पार गर्न सकेनन्। डिसेम्बरमा आफ्नो सम्झौता सकिने भएकाले भविष्यबारे सोधिएको प्रश्नमा स्कालोनीले अर्जेन्टिना फुटबल संघका अध्यक्षसँग छलफल गरेर मात्र निर्णय गर्ने बताए।

उनले सम्झौताको अवधि सकिएसम्म आफ्नो जिम्मेवारी पूरा गर्ने र त्यसपछि आगामी योजनाबारे गम्भीर रूपमा सोच्ने उल्लेख गरे। स्कालोनीले राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर आफ्नो जीवनकै सबैभन्दा ठूलो सम्मान भएको बताउँदै संघका अध्यक्ष, प्रशिक्षक टोली र खेलाडीप्रति आभार व्यक्त गरे। उनका अनुसार टोलीका सबै सदस्यले अन्तिम क्षणसम्म उत्कृष्ट प्रयास गरेका थिए।

बोल्दै जाँदा उनको स्वर भरिएको थियो। आँसु पुछ्दै उनले आफूलाई केही समय आवश्यक रहेको र भविष्यबारे सोच्नुपर्ने अवस्था आएको बताए। उनले अर्जेन्टिनाको प्रशिक्षक बन्ने अवसर आफू र आफ्नो सहयोगी टोलीले कहिल्यै कल्पना नगरेको उल्लेख गर्दै यस्तै स्तरको टोली फेरि निर्माण गर्नु चुनौतीपूर्ण हुने धारणा राखे।

अन्त्यमा स्कालोनीले पत्रकारहरूसँग क्षमा माग्दै आफू अत्यन्त भावुक अवस्थामा रहेको बताए र पत्रकार सम्मेलन बीचमै छाडेर बाहिरिए।