देशभर मनसुन सक्रिय, आज पनि धेरै स्थानमा वर्षाको सम्भावना

User Image Prime TV News एक दिन अगाडि
Image of देशभर मनसुन सक्रिय, आज पनि धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले सोमबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

पहाडी क्षेत्रका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान एवं मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थान र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।