अमेरिकाको लगातार नवौँ रात इरानमा हवाई आक्रमण, पाँच सहरमा विस्फोटको आवाज
Prime TV News एक दिन अगाडि 
काठमाडौ । अमेरिकाले लगातार नवौँ रात पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार होर्मुज जलमार्ग हुँदै सञ्चालन हुने व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग भइरहेको इरानी सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले आक्रमण गरिएको हो।
इरानी समाचार एजेन्सी तस्निमका अनुसार अमेरिकी आक्रमणको घोषणा भएको केही समयमै इरानका दुई प्रमुख बन्दरगाहसहित पाँचवटा सहरमा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ। स्थानीय सञ्चारमाध्यमहरूले पनि विभिन्न क्षेत्रमा विस्फोट भएको पुष्टि गरेका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको पछिल्लो हवाई कारबाहीलाई अमेरिकी सैनिकहरूको सम्मानमा गरिएको बताएका छन्।
विश्वकप फाइनल खेल हेरेर वासिङ्टन फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामीले आज राति फेरि उनीहरूमाथि निकै ठूलो प्रहार गर्यौँ। यो हाम्रा सम्भवतः तीन जना महान् देशभक्त सैनिकहरूको सम्मानमा गरिएको हो।”
इरानसँगको द्वन्द्वमा अमेरिकी सैन्य हताहतीबारे सोधिएको प्रश्नमा ट्रम्पले ज्यान गुमाएका सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरू इरानले परमाणु हतियार विकास गर्न नसकोस् भन्ने उद्देश्यका लागि लडिरहेको बताए।
अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच पछिल्ला दिनहरूमा दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण जारी रहेकाले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ।






