कोसीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, २८ वटा ढोका खोलियो

User Image Prime TV News एक दिन अगाडि
Image of कोसीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, २८ वटा ढोका खोलियो

सप्तरी ।  निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्दै २ लाख क्युसेक नाघेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक मापन गरिएको बहाव दिउँसो ४ बजेसम्म बढेर २ लाख ९ हजार ८४० क्युसेक पुगेको हो। दिउँसो ३ बजे भने पानीको बहाव १ लाख ९० हजार ३९० क्युसेक रहेको थियो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले बहाव बढेसँगै कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २८ वटा खोलिएको जानकारी दिए। पानीको सतह खतराको तह नजिक पुगेपछि कोसी ब्यारेज क्षेत्रमा चेतावनीस्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ।

प्रशासनले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरेको छ।