दसैँपछि लगातार ओरालो लाग्यो सेयर बजार, लगानीकर्ता अझै 'पर्ख र हेर'को अवस्थामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । दसैँ बिदापछि नेपाली सेयर बजार लगातार गिरावटतर्फ उन्मुख भएको छ। बिदाअघि कारोबारको अन्तिम दिन गएको असोज १२ गते आइतबार नेप्से सूचक ११.५१ अंकले उक्लिएर २६६३.५१ बिन्दुमा पुगेको थियो। तर, बिदापछिको कारोबारमा बजारले सो उचाइ कायम राख्न सकेको छैन।
दसैँ बिदापछि मंगलबारदेखि खुलेको बजारमा नेप्से सूचक ५८.५५ अंकले घट्दा आज बुधबार पुनः ४५.३६ अंकको गिरावट आएको छ। यो गिरावटसँगै नेप्से सूचक २५५९.५९ बिन्दुमा झरेको छ । बुधबारको कारोबारमा जम्मा १८ कम्पनीका सेयर मूल्य बढेका छन् भने २३२ कम्पनीको सेयर मूल्य घटेको देखिएको छ। कुल कारोबार रकम ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्ला दिनको तुलनामा तुलनात्मक रूपमा मध्यम हो।
राजनीतिक तहमा नयाँ सरकार गठन भइसकेको भए पनि सेयर बजारले अझै स्थायित्वको संकेत दिन सकेको छैन। विश्लेषकहरूका अनुसार सरकारले निजी क्षेत्रमैत्री नीतिहरू ल्याएको देखिए तापनि लगानीकर्ताको विश्वसनीयता अझै फर्किएको छैन। राजनीतिक अस्थिरता र आर्थिक अनिश्चितताले गर्दा बजारले आफ्नो गतिमा फर्किन समय लाग्ने अनुमान गरिएको छ।













