न्युयोर्कका मेयर ममदानीले नेतान्याहुलाई पक्राउ गर्ने कानुनी विकल्पबारे अध्ययन भइरहेको बताए

User Image Prime TV News एक दिन अगाडि
Image of न्युयोर्कका मेयर ममदानीले नेतान्याहुलाई पक्राउ गर्ने कानुनी विकल्पबारे अध्ययन भइरहेको बताए

काठमाडौ । अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु संयुक्त राष्ट्रसंघ (यूएन) महासभामा सहभागी हुन न्युयोर्क आए उनलाई पक्राउ गर्ने सम्भावित कानुनी उपायबारे अध्ययन भइरहेको बताएका छन्।

ममदानीले नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले पक्राउ पुर्जी जारी गरेको उल्लेख गर्दै उनी युद्ध अपराधका आरोपित रहेको दाबी गरे। उनले नेतान्याहु अहिले ‘द हेग’स्थित अदालतको प्रक्रियामा हुनुपर्ने बताएका छन्।

‘द न्युयोर्क टाइम्स’को ‘द इन्टरभ्यु पोडकास्ट’मा बोल्दै ममदानीले आफ्नो प्रशासनको कानुनी विभागले यस विषयमा छलफल गरिरहेको जानकारी दिए। उनले कानुनी सीमाभित्र रहेर मात्र आवश्यक कदम चालिने स्पष्ट पारे।

‘हामी यस विषयमा कानुनी विभागसँग सक्रिय रूपमा छलफल गरिरहेका छौँ। राष्ट्रिय स्तरमा कानुनी सीमाभन्दा बाहिर जाने प्रयासहरू देखिए पनि हामी कानुनको दायराभित्र रहेर मात्र काम गर्नेछौँ,’ उनले भने।

आईसीसीले सन् २०२४ मा नेतान्याहुसहित केही इजरायली नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। अदालतले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि भएको सैन्य कारबाहीका क्रममा युद्ध अपराध गरेको आरोपमा उक्त कदम चालेको जनाएको थियो।

यद्यपि अमेरिका आईसीसीको रोम विधानको पक्ष राष्ट्र नभएकाले अदालतको निर्णय कार्यान्वयन गर्न बाध्य नरहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले आईसीसीको निर्णयको आलोचना गरेका थिए।

ममदानी गाजामा इजरायलको सैन्य अभियानका आलोचक रहँदै आएका छन्। उनले उक्त अभियानलाई नरसंहारको संज्ञा दिँदै आएका छन् भने इजरायलले त्यसलाई अस्वीकार गर्दै आएको छ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले ममदानीको भनाइलाई राजनीतिक प्रदर्शनको संज्ञा दिएका छन्। उनले अमेरिका आईसीसीको सदस्य नभएकाले अदालतका निर्णय पालना गर्न बाध्य नरहेको बताए।

यता, इजरायली प्रधानमन्त्री नेतान्याहुले आफूलाई पक्राउ गर्ने ममदानीको अभिव्यक्तिलाई अस्वीकार गरेका छन्।