निहारिका र बिनुलाई गृहमन्त्रीसँग भेट गराउन गृह मन्त्रालयलाई समितिको आग्रह
Prime TV News २ दिन अगाडि 
काठमाडौ । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतलाई गृहमन्त्रीसँग भेट गर्ने वातावरण मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेकी छन्।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति बास्कोटाले नागरिकले आफ्ना समस्या र माग सम्बन्धित मन्त्रीसमक्ष राख्न पाउने व्यवस्था लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष भएको बताइन्। उनले त्यसका लागि गृह मन्त्रालयले आवश्यक समन्वय गर्नुपर्ने धारणा राखिन्।
निहारिका राजपुत र बिनु यादवले आफूहरूका समस्या गृहमन्त्रीसमक्ष राख्न खोज्दा भेट नपाएको भन्दै शनिबार सिंहदरबार गेटमा धर्ना दिएका थिए। उनीहरूलाई प्रहरीले हटाएको घटनाप्रति पनि चासो व्यक्त गर्दै समितिले यस विषयमा आवश्यक पहल गर्ने जनाएको छ।
सभापति बास्कोटाले नागरिकता समस्या, उपसाहकोट पहिरो प्रभावितको व्यवस्थापन तथा अधिकारकर्मीहरूको मागका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी समाधान खोजिने बताइन्। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार र जीवनयापनको अवस्थाबारे पनि छलफल भएको थियो।
सभापति बास्कोटाले सुधार गृहमा रहेका बालबालिकालाई कैदीबन्दीसरहको सामान्य खाना मात्र उपलब्ध गराउनु उपयुक्त नभएको भन्दै उनीहरूको उमेर, स्वास्थ्य र मानसिक विकासअनुकूल पोषणयुक्त आहारको व्यवस्था गर्न सरकारलाई आग्रह गरिन्।
उनले बाल सुधार गृहमा शिक्षा, स्वास्थ्य, पोषण र पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै क्षमताभन्दा बढी बालबालिका रहेका सुधार गृहको अनुगमन र व्यवस्थापन सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्। समितिले सप्तरी कारागारको समस्या, नागरिकता विवाद र अन्य सार्वजनिक सरोकारका विषयमा पनि सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने निर्णय गरेको छ।
सभापति बास्कोटाले न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन वैज्ञानिक अनुसन्धान, प्रमाण संरक्षण र विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक रहेको बताइन्। समितिले बाल सुधार गृहसम्बन्धी प्रतिवेदन सदनमा पेश गर्ने र सरकारलाई आवश्यक निर्देशन दिने तयारी गरेको छ।







