अमेरिकी र्यापर ‘डिडी’ कम्ब्सलाई यौनजन्य अपराधमा ५० महिनाको जेल सजाय
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकी र्यापर तथा व्यवसायी शन "डिडी" कम्ब्सलाई यौनजन्य अपराध सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै न्यूयोर्कस्थित संघीय अदालतले ५० महिनाको जेल सजाय सुनाएको छ। अमेरिकी जिल्ला न्यायाधीशको इजलासले उनलाई ५०,००० अमेरिकी डलर जरिवाना तिर्ने आदेशसमेत दिएको छ।
अदालतले कम्ब्सलाई राज्य सिमाना पार गर्दै वेश्यावृत्तिको उद्देश्यले महिला ओसारपसार गरेको अभियोगमा दोषी ठहर गरेको हो। तथापि, उनलाई मानव बेचबिखन र यौन शोषणसम्बन्धी गम्भीर अभियोगहरूबाट भने निर्दोष ठहर गरिएको छ।
सुनुवाइका क्रममा ५४ वर्षीय कम्ब्सले अदालतमा गल्ती स्वीकार गरेका थिए। उनका छोराछोरीले समेत न्यायाधीशसँग दया गर्न अनुरोध गरेका थिए। तर, न्यायाधीशले पीडितहरूलाई न्याय दिलाउन कडा सजाय आवश्यक भएको बताउँदै जेल सजायको आदेश दिएका हुन्।













