फाइनलअघि एमबाप्पेले गरे मेसीको प्रशंसा, ‘उनले गोल गर्ने निश्चित छ’
Prime TV News एक दिन अगाडि 
काठमाडौ । फ्रान्सका कप्तान केलियन एमबाप्पेले फिफा विश्वकप २०२६ को फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीको प्रशंसा गर्दै फाइनलमा उनले गोल गर्ने विश्वास व्यक्त गरेका छन्।
इंग्ल्यान्डविरुद्ध दुई गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रता बनाएका एमबाप्पेले खेलपछि फक्स न्युजसँग कुरा गर्दै मेसी सधैं निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी भएको बताए। ‘लियोले सधैं गोल गरेका छन्। स्पेनविरुद्धको फाइनलमा पनि उहाँले पक्कै गोल गर्नुहुनेछ,’ एमबाप्पेले भने।
जारी विश्वकपमा एमबाप्पेले १० गोल गर्दै गोल्डेन बुट जित्ने सम्भावना बलियो बनाएका छन्। मेसी भने आठ गोलसहित दोस्रो स्थानमा छन्। सेमिफाइनल समाप्तिसम्म दुवै खेलाडी आठ–आठ गोलसहित बराबरीमा थिए। अब गोल्डेन बुट जित्न मेसीले फाइनलमा कम्तीमा दुई गोल गर्नुपर्ने अवस्था रहेको छ।
इंग्ल्यान्डविरुद्धको खेलसँगै एमबाप्पेले विश्वकप इतिहासमा नयाँ कीर्तिमान पनि बनाएका छन्। तीन संस्करण मात्र खेल्दा उनले कुल २२ गोल गर्दै विश्वकपका सर्वाधिक गोलकर्ता बनेका छन्। यसअघि मेसीले २१ गोलसहित शीर्ष स्थानमा रहेका थिए।
यद्यपि व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलता आफ्नो प्राथमिकता रहेको एमबाप्पेले बताएका छन्। ‘विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नु गर्वको विषय हो। तर अहिले मेरो ध्यान व्यक्तिगत उपलब्धिभन्दा टोलीको सफलतामा छ,’ उनले भने।
सन् २०२२ को विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरे पनि अर्जेन्टिनाले लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा उपाधि जितेको थियो। चार वर्षपछि फेरि विश्वकपको फाइनलमा मेसी मैदान उत्रँदै छन् भने एमबाप्पेले पनि उनलाई निर्णायक खेलका लागि खतरनाक खेलाडीका रूपमा स्वीकार गरेका छन्।






