निर शाहको निर्देशनमा ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

User Image Prime TV News एक दिन अगाडि
Image of निर शाहको निर्देशनमा ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

काठमाडौ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा बन्ने नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ को निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।

शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै फिल्मको शुभारम्भ गरिएको हो। रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रको पहिलो गीतमा निर शाहको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत तथा गायक शिव परियारको स्वर रहेको छ।

फिल्मको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्। चलचित्रको छायांकन सौरभ लामाले गर्नेछन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकनको तयारी अन्तिम चरणमा पुगेको छ। फिल्ममा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिक टोलीको विवरण भने उपयुक्त समयमा सार्वजनिक गरिने जनाइएको छ। ‘प्रिन्स’ निर शाहको नयाँ निर्देशनात्मक परियोजनाका रूपमा निर्माण हुन लागेको हो, जसको थप विवरण निर्माण पक्षले क्रमशः सार्वजनिक गर्ने जनाएको छ।