दक्षिणपन्थी शक्तिसँग अपवित्र साँठगाँठ नगर्न झलनाथ खनालको आग्रह

User Image Prime TV News २ दिन अगाडि
Image of दक्षिणपन्थी शक्तिसँग अपवित्र साँठगाँठ नगर्न झलनाथ खनालको आग्रह

काठमाडौ । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले व्यक्तिगत स्वार्थ, कुर्सी मोह र आत्मतृप्तिका लागि दक्षिणपन्थी शक्तिसँग राजनीतिक सम्झौता नगर्न पार्टी नेतृत्व र कार्यकर्तालाई आग्रह गरेका छन्।

उनले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच एकता र स्पष्ट वैचारिक दिशाको आवश्यकता रहेको बताएका छन्। आइतबार जारी विज्ञप्तिमा खनालले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै राष्ट्रियता, जनजीविका, नागरिक अधिकार, छिमेकी सम्बन्ध तथा राज्यका विभिन्न निकायबीचको समन्वय कमजोर बन्दै गएको आरोप लगाए।

देशमा बढ्दो आर्थिक र सामाजिक समस्याले आम नागरिकलाई कठिन अवस्थामा पुर्‍याएको उल्लेख गर्दै उनले विदेशी हस्तक्षेप र आन्तरिक अस्थिरताविरुद्ध लोकतान्त्रिक, देशभक्त, वामपन्थी, समाजवादी तथा प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

खनालले विगतमा वैचारिक स्पष्टता र वर्गीय दृष्टिकोणबिना दक्षिणपन्थी शक्तिसँग गरिएको राजनीतिक सहकार्य कम्युनिस्ट आन्दोलनका लागि हानिकारक भएको उल्लेख गर्दै त्यही गल्ती दोहोरिन नहुने बताए। विशेषगरी प्रदेश सरकार गठनका विषयमा कुनै नयाँ राजनीतिक समीकरण अघि बढाउनुअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाएर व्यापक छलफल गर्न उनले नेतृत्वसँग माग गरेका छन्।

उनले पार्टीका निर्णयहरू क्रान्तिकारी उद्देश्य, वैचारिक प्रतिबद्धता र वर्गीय दृष्टिकोणका आधारमा हुनुपर्नेमा जोड दिँदै सम्झौतावादी प्रवृत्तिबाट पार्टीलाई जोगाउन संस्थागत निर्णय आवश्यक रहेको बताए।

विज्ञप्तिमा खनालले केही नेताहरूको व्यक्तिगत महत्वाकांक्षा र पदलोलुपताका कारण पार्टीको प्रतिष्ठामा असर पर्न सक्ने चेतावनी दिँदै अहिलेको आवश्यकता पदका लागि साँठगाँठ होइन, सही कार्यदिशाका आधारमा पार्टीको पुनर्गठन र रूपान्तरण भएको उल्लेख गरेका छन्।

साथै, वामपन्थी शक्तिहरूलाई आपसी आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर एकताको पहल गर्न उनले आह्वान गरेका छन्।