प्रतिपक्षसँग सहकार्य नगर्ने सरकार दीर्घकालीन रूपमा टिक्दैन : रघुवीर महासेठ

User Image Prime TV News २ दिन अगाडि
Image of प्रतिपक्षसँग सहकार्य नगर्ने सरकार दीर्घकालीन रूपमा टिक्दैन : रघुवीर महासेठ

जनकपुर । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले लोकतान्त्रिक शासन व्यवस्थामा प्रतिपक्षसँग सहकार्य गरेर अघि बढ्नु सरकारको दायित्व भएको बताएका छन्।

प्रतिपक्षलाई बेवास्ता वा दबाएर अघि बढ्ने सरकार दीर्घकालीन रूपमा सफल हुन नसक्ने उनको भनाइ छ। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महासेठले वर्तमान सरकार गठन भएको करिब चार महिना बितिसक्दा पनि अपेक्षाअनुसार प्रभावकारी काम हुन नसकेको संकेत गरे।

उनले सरकारलाई सबै राजनीतिक दललाई विश्वासमा लिएर जनहितलाई केन्द्रमा राख्दै अघि बढ्न आग्रह गरे। उनले देश कुनै एक दलको निजी सम्पत्ति नभई सार्वभौमसत्ता जनतामा निहित रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्यअनुसार सरकार र प्रतिपक्षबीच सहकार्य आवश्यक रहेको बताए।

महासेठले शिक्षा, स्वास्थ्य तथा घरजग्गा कारोबारमा लगाइएका नयाँ करको पनि आलोचना गरे। साउन १ गतेदेखि लागू गरिएको जग्गा खरिद–बिक्रीमा दुवै पक्षबाट कर असुल्ने व्यवस्था तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा थपिएको करले सर्वसाधारणमाथि आर्थिक भार बढाएको उनको दाबी छ। यस्ता निर्णयमा पुनर्विचार गर्दै जनताको हितलाई प्राथमिकता दिन उनले सरकारसँग माग गरे।

मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनसमर्थनको प्रसंग उल्लेख गर्दै महासेठले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने जिम्मेवारी सबै दलको रहेको बताए। काम गर्न नसके जनताले दिएको विश्वास फिर्ता लिन सक्ने चेतावनी पनि उनले दिए।

उनले निजी क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डको संज्ञा दिँदै आर्थिक विकास, लगानी र रोजगारी सिर्जनामा यसको भूमिका महत्वपूर्ण रहेको बताए। साथै, अन्तर्राष्ट्रिय आर्थिक चुनौती, इरान–इजरायल द्वन्द्व र बढ्दो महँगीको प्रभाव नेपालमा पनि परिरहेको उल्लेख गर्दै अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।