नेपाल–जर्मनीबीच ऊर्जा, स्वास्थ्य र विकास क्षेत्रमा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच ऊर्जा, स्वास्थ्य, कृषि र समावेशी विकासका क्षेत्रमा लक्षित गर्दै दुईवटा महत्त्वपूर्ण वित्तीय तथा प्राविधिक सहयोग सम्झौतामा आज हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले सम्झौतामा हस्ताक्षर गरेका हुन् । वित्तीय सहयोग अन्तर्गत, जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’ का लागि २० मिलियन युरोसम्मको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यस परियोजना अन्तर्गत नेपाल विद्युत् प्राधिकरणमार्फत विद्युतीय विवरण प्रणालीको स्तरोन्नति र वितरण प्रणाली सुदृढीकरण गरिनेछ। कार्यक्रम पाँच वर्षभित्र, अर्थात् ५ सेप्टेम्बर २०२९ भित्र सम्पन्न गरिने लक्ष्य रहेको छ ।
यस्तै विधिक सहयोग सम्बन्धी सम्झौता सन् १९७४ मा हस्ताक्षर भएको दीर्घकालीन ढाँचागत सम्झौता र २००९ को संशोधनमा आधारित रहेको छ। यस अन्तर्गत, जर्मन सरकारले २१ मिलियन युरोसम्मको प्राविधिक सहायता प्रदान गर्नेछ।













