देशभर मनसुन सक्रिय, आज भारीदेखि अति भारी वर्षाको सम्भावना

User Image Prime TV News २ दिन अगाडि
Image of देशभर मनसुन सक्रिय, आज भारीदेखि अति भारी वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तरमा र पूर्वतर्फ औसत स्थानकै आसपास रहेकाले वर्षाको गतिविधि बढेको हो।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रमा धेरै स्थान तथा पहाडी क्षेत्रमा अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका धेरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

विशेषगरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति पनि मनसुनी गतिविधि कायमै रहने अनुमान गरिएको छ। कोशी र सुदूरपश्चिमका पहाडी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका अधिकांश क्षेत्रमा पनि वर्षा जारी रहने मौसमविद्को अनुमान छ।

रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाले नदी तथा खोलानाला आसपासका बासिन्दा, यात्रु र सडक प्रयोगकर्तालाई विशेष सतर्कता अपनाउन तथा मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।