गोल्डेन बुट दौडमा एमबाप्पे अग्रस्थानमा, मेसीलाई फाइनलमा इतिहास रच्ने अवसर
Prime TV News २ दिन अगाडि 
काठमाडौ । विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेल सम्पन्न भएसँगै गोल्डेन बुटको प्रतिस्पर्धा थप रोचक बनेको छ।फ्रान्सका कप्तान किलियन एमबाप्पे १० गोलसहित शीर्ष स्थानमा रहँदा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी फाइनलअघि दोस्रो स्थानमा छन्।
इङ्गल्यान्डविरुद्ध दुई गोल गर्दै एमबाप्पेले जारी प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्याएका हुन्। उनले ४ असिस्टसमेत गरेका छन्। प्रतियोगिताभर उनले हरेक ७० मिनेटमा एक गोल गर्ने औसत कायम गरेका छन्। एमबाप्पेले विपक्षी पोस्टतर्फ ४१ प्रहार गर्दा ५६ प्रतिशत सट लक्ष्यमा पुगेका छन् भने गोल रूपान्तरण दर २४ प्रतिशत रहेको छ।
यता, अर्जेन्टिनाका कप्तान मेसी ८ गोल र ४ असिस्टसहित दोस्रो स्थानमा छन्। सात खेल खेलेकाले उनले औसतमा प्रत्येक ७८ मिनेटमा एक गोल गरेका छन्। मेसीले प्रतियोगितामा ३४ पटक पोस्टतर्फ प्रहार गरेका छन्।
अब आइतबार स्पेनविरुद्ध हुने विश्वकप फाइनल मेसीका लागि गोल्डेन बुट जित्ने अन्तिम अवसर हुनेछ। उत्कृष्ट प्रदर्शन गर्न सके उनी एमबाप्पेलाई उछिन्न सक्ने सम्भावना अझै कायम छ।
गोलकर्ताको सूचीमा तेस्रो स्थानमा इङ्गल्यान्डका जुड बेलिङ्घम र नर्वेका अर्लिङ हालान्ड संयुक्त रूपमा छन्। दुवैले समान ७–७ गोल गरेका छन्। बेलिङ्घमले आठ खेलमा एक असिस्ट गरेका छन् भने हालान्डले पाँच खेलमै सात गोल गरे पनि असिस्ट गर्न सकेका छैनन्।
त्यस्तै, पाँचौं स्थानमा फ्रान्सका ओसमाने डेम्बेले र इङ्गल्यान्डका ह्यारी केन समान ६–६ गोलसहित छन्। डेम्बेलेले आठ खेलमा दुई असिस्ट गरेका छन् भने केनले सात खेलमा एक असिस्ट गरेका छन्।
विश्वकपको उपाधिसँगै व्यक्तिगत अवार्डको प्रतिस्पर्धा पनि निर्णायक चरणमा पुगेको छ। अब फाइनलमा मेसीको प्रदर्शनले गोल्डेन बुटको अन्तिम नतिजा तय गर्नेछ।







