सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ

User Image Prime TV News २ दिन अगाडि
Image of सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा प्रतिनिधिसभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध चरित्रहत्या, गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति फैलाइएको भन्दै साइबर ब्युरोमा दिएको उजुरीका आधारमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिएकी हुन्।

उनका अनुसार शनिबार चितवनबाट पक्राउ परेका दुवै जना पुरुष हुन्। साइबर ब्युरोले घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान पनि जारी राखेको जनाएको छ।

ओलीले शुक्रबार साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराएकी थिइन्। उजुरीपछि उनले आफूले आरोप लगाएका केही व्यक्तिको तस्बिरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।

पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिँदै ओलीले लोकतान्त्रिक समाजमा असहमति, आलोचना र फरक विचार व्यक्त गर्नु स्वाभाविक भए पनि चरित्रहत्या, गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति फैलाउने कार्य स्वीकार्य हुन नसक्ने बताएकी छन्।

कारबाही प्रक्रिया अघि बढाएकोमा उनले साइबर ब्युरो र नेपाल प्रहरीप्रति धन्यवाद पनि व्यक्त गरेकी छन्। यसअघि पनि यस्तै प्रकृतिको उजुरीका आधारमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको थियो।