लिचीबारी जग्गा प्रकरण : अख्तियार विशेष अदालतमा, पूर्वमन्त्रीहरू विवादमा

User Image Prime TV News एक महिना अगाडि
Image of लिचीबारी जग्गा प्रकरण : अख्तियार विशेष अदालतमा, पूर्वमन्त्रीहरू विवादमा

काठमाडौ । पोखराको चर्चित लिचीबारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। सार्वजनिक जग्गा सुकुम्वासीका नाममा निजीकरण गर्ने प्रयाससँग जोडिएको यो प्रकरणमा पूर्व मन्त्रीहरू समेत संलग्न रहेको आरोप लाग्दै आएको छ।

विशेष अदालत स्रोतका अनुसार हालसम्म मुद्दा रुजु प्रक्रियामा रहेकाले प्रतिवादीको विवरण र बिगो रकमबारे खुलासा भएको छैन। "रुजुको प्रक्रिया सम्पन्न भएपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्न सकिन्छ," स्रोतले भन्यो।

लिचीबारी जग्गा अनियमितता सार्वजनिक भएपछि त्यसबेला मन्त्रालय सम्हालिरहेका तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए। अडियो क्लिपमार्फत 'पैसा खाइसक्यो' भन्ने अभिव्यक्ति बाहिर आएपछि उनी विवादमा तानिएका थिए।

उक्त अडियोमा नाम जोडिएका तत्कालीन भूमिसुधारमन्त्री बलराम अधिकारी भने राजीनामा नगरी पदमै रहेका थिए। त्यसैगरी, पूर्व भूमिसुधारमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि यस प्रकरणमा संलग्न भएको आरोपमा अख्तियारको निगरानीमा आएकी छिन्। श्रेष्ठसहित संलग्न भनिएका केही व्यक्तिहरूलाई आयोगले बयानका लागि बोलाइसकेको छ।

यो प्रकरणमा पोखराको लिचीबारीस्थित सरकारी जग्गालाई सुकुम्वासीका नाममा दर्ता गराउँदै निजीकरण गर्ने प्रयास गरिएको आशंका गरिएको छ।