सरकारका निर्णयले जनतालाई हानि पुगे तुरुन्त सच्याउनुपर्छ : रवि लामिछाने
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका निर्णयले अपेक्षित लाभभन्दा हानि पुगेमा त्यस्ता निर्णय तत्काल परिवर्तन गर्न सकिने बताएका छन्।
शनिबार रौतहटका पार्टी नेता तथा कार्यकर्तासँगको छलफलमा उनले सरकारका निर्णय अन्तिम र अपरिवर्तनीय नहुने उल्लेख गर्दै जनतालाई असर पार्ने नीति आवश्यक परे रातारात पनि संशोधन गर्न सकिने बताए।
‘सरकारले जसका लागि लाभ होस् भनेर निर्णय गरेको छ, त्यसबाट लाभ होइन, हानि भएछ भने निर्णय परिवर्तन हुन्छ। त्यसमा चिन्ता लिनुपर्दैन,’ उनले भने, ‘यदि कुनै निर्णयले ठूलो क्षति गर्यो भने त्यसलाई रातारात पनि परिवर्तन गर्नुपर्छ।’
छलफलका क्रममा सीमा क्षेत्रका बासिन्दाले सरकारले लागू गरेको सय रुपैयाँको सीमा लगायतका व्यवस्थाका कारण जनजीवन प्रभावित भएको गुनासो गरेका थिए। उनीहरूले समस्या समाधानका लागि पहल गरिदिन लामिछानेलाई आग्रह गरेका थिए।
गुनासो सुनेपछि लामिछानेले सरकारको नियतप्रति विश्वास व्यक्त गर्दै निर्णयमा कमजोरी देखिए सच्याउन सकिने बताए। उनका अनुसार नीति बनाउँदा उद्देश्य राम्रो भए पनि कार्यान्वयनका क्रममा व्यवहारिक समस्या आउन सक्छ।
‘निर्णयमा समस्या आयो भने करेक्सन गर्न सकिन्छ। तर नियत नै खराब भयो भने त्यसलाई सच्याउन गाह्रो हुन्छ,’ उनले भने।
उनले किसान, मजदुर तथा विपन्न वर्गलाई अप्ठ्यारो पार्ने कुनै पनि नीति दीर्घकालसम्म कायम नरहने दाबी गरे। व्यवहारमा जनतालाई असर पुगेको पुष्टि भए त्यस्ता नीतिहरू संशोधन गरिने उनको भनाइ थियो।
‘कुनै पनि सरकारले लिएको नीति किसान, मजदुर वा गरिब तथा विपन्न वर्गलाई अप्ठ्यारो पार्ने देखियो भने त्यस्ता नीतिहरू परिवर्तन हुन्छन्। यी अपरिवर्तनीय निर्णय होइनन्। केही समय धैर्यता राख्न आवश्यक छ,’ लामिछानेले भने।







