बागमती सरकारबाट बाहिरिन एमाले मन्त्रीहरूलाई निर्देशन

User Image Prime TV News ३ दिन अगाडि
Image of बागमती सरकारबाट बाहिरिन एमाले मन्त्रीहरूलाई निर्देशन

काठमाडौ । बागमती प्रदेशमा सत्ता गठबन्धनमा देखिएको विवादपछि नेकपा एमालेले आफ्ना मन्त्रीहरूलाई सरकारबाट बाहिरिन निर्देशन दिएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूलाई मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउन निर्देशन दिएका हुन्।

थपलियाले कांग्रेस–एमाले सत्ता गठबन्धनमा दरार देखिएपछि बदलिएको राजनीतिक परिस्थितिका आधारमा यस्तो निर्णय गरिएको बताए। उनले कांग्रेस गठबन्धनमा रहन नचाहेको देखिएकाले एमालेले पनि सरकारमा जबर्जस्ती बसिरहन आवश्यक नरहेको निष्कर्ष निकालेको जानकारी दिए।

‘अहिलेको बदलिएको सत्ता राजनीतिको परिस्थितिमा कांग्रेस गठबन्धनमा रहन नचाहेको बुझियो। यस्तो अवस्थामा एमाले गठबन्धनमा जबर्जस्ती बसिरहन नपर्ने निष्कर्षसहित मन्त्रीहरूलाई निर्देशन दिएको हो,’ उनले भने।

एमालेबाट बागमती सरकारमा हाल ६ जना मन्त्री सहभागी छन्। मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारले १४ वटा मन्त्रालयलाई घटाएर ८ कायम गरेपछि केही मन्त्रीलाई जिम्मेवारीविहीन बनाइएको थियो।

सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा रहेका छन्। त्यस्तै, किरण थापा मगर, जयराम श्रेष्ठ र भरतबहादुर केसी विना विभागीय मन्त्रीका रूपमा रहेका छन्।