इरानविरुद्ध सम्भावित सैन्य कारबाहीका लागि इजरायलमा थप रिफ्युलिङ विमान पठाउने तयारीमा अमेरिका

User Image Prime TV News ३ दिन अगाडि
Image of इरानविरुद्ध सम्भावित सैन्य कारबाहीका लागि इजरायलमा थप रिफ्युलिङ विमान पठाउने तयारीमा अमेरिका

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध सम्भावित ठूलो सैन्य कारबाहीका लागि इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाउने तयारी गरेको छ।

अमेरिकी र इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियोसले यसबारे जानकारी दिएको छ। रिपोर्टअनुसार ट्रम्पले ‘सिचुएसन रुम’मा प्रस्तुत गरिएका नयाँ सैन्य योजनाहरूको समीक्षा गरेपछि इरानमाथि ठूलो आक्रमण गर्ने विकल्पबारे विचार गरिरहेका छन्।

प्रस्तावित कारबाही हर्मोज स्ट्रेट आसपास भइरहेका हालका आक्रमणभन्दा व्यापक हुन सक्ने बताइएको छ। अमेरिकी अधिकारीहरूले इरानका ऊर्जा पूर्वाधार तथा आणविक केन्द्रहरूलाई लक्षित गर्ने सम्भावित विकल्पमाथि छलफल गरिरहेका छन्। यद्यपि ट्रम्पले अहिलेसम्म कुनै अन्तिम निर्णय भने गरेका छैनन्।

अमेरिका र इजरायली अधिकारीहरूका अनुसार इरानलाई हर्मोज स्ट्रेट खुला गर्न तथा आणविक कार्यक्रमसम्बन्धी मागहरू पूरा गर्न दबाब दिन ट्रम्प प्रशासन सैन्य दबाब बढाउने तयारीमा देखिएको छ।

यसैबीच, अमेरिकी सेनाले हर्मोज स्ट्रेट र इरानको दक्षिणी तट क्षेत्रमा लगातार आक्रमण गरिरहेको छ। पछिल्लो आक्रमणमा बन्दर अब्बास आसपासका कम्तीमा सातवटा पुललाई लक्षित गरिएको बताइएको छ। बन्दर अब्बास इरानी रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) को महत्वपूर्ण केन्द्र मानिन्छ।

इरानले पनि जोर्डन, कतार, बहराइन, इराक र कुवेतमा रहेका अमेरिकी सैन्य आधारहरूमा आक्रमण बढाएको दाबी गरेको छ। आईआरजीसीले सिरियास्थित अमेरिकी बेसमा समेत आक्रमण गरेको जनाएको छ, यद्यपि अमेरिकी सेनाले उक्त स्थान केही समयअघि नै छाडिसकेको बताइएको छ।

अहिले इजरायलका बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल र दक्षिणी इजरायलको रमोन विमानस्थलमा अमेरिकाका करिब ६० वटा रिफ्युलिङ विमान रहेको बताइएको छ। इजरायली अधिकारीहरूका अनुसार अमेरिकाले थप दर्जनौं विमान पठाउने तयारी गरिरहेको छ।

अमेरिकी सेनाले बेन गुरियन विमानस्थलबाटै यी विमान सञ्चालन गर्ने योजना बनाएको छ। क्षेत्रका अन्य विमानस्थल इरानी आक्रमणको जोखिममा रहेकाले उक्त विमानस्थल तुलनात्मक रूपमा सुरक्षित मानिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानलाई चेतावनी दिँदै आक्रमण भएमा विगतको जस्तो प्रतिक्रिया नहुने बताएका छन्। उनले इरानविरुद्धको सम्भावित जवाफी कारबाही अझ शक्तिशाली हुने संकेत दिएका छन्।

यता, अमेरिकी रिफ्युलिङ विमानहरूको बढ्दो उपस्थितिले इजरायलभित्र राजनीतिक विवादसमेत सिर्जना गरेको छ। बेन गुरियन विमानस्थलमा लामो समयदेखि अमेरिकी विमानहरू पार्क गरिँदा विमानस्थल व्यवस्थापनमा दबाब परेको बताइएको छ।

गर्मी बिदाको समयमा हवाई यातायात बढिरहेका बेला थप अमेरिकी विमान आएमा नियमित उडान प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। यस विषयमा इजरायली यातायात मन्त्री मिरी रेगेभले विमान संख्या घटाउन वा व्यवस्थापन गर्न दबाब दिएकी छन्।

तर रक्षा मन्त्रालय र इजरायली रक्षा बल (आईडीएफ) ले अमेरिकी सैन्य सहयोगलाई प्राथमिकता दिँदै यसको विरोध गरेका छन्। ट्रम्प प्रशासनले पनि इजरायल सरकारलाई विमान व्यवस्थापनका लागि आवश्यक व्यवस्था गर्न आग्रह गरेको छ।