निर्वाचनबारे छलफल गर्न आयोगले दलहरुलाई बोलायो

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचनबारे छलफल गर्न आयोगले दलहरुलाई बोलायो

काठमाडौ । प्रतिनिधिसभा निर्वाचनको तयारीलाई लिएर निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्न असोज ३० गतेका लागि बैठक आह्वान गरेको छ। आयोगले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनबारे आवश्यक परामर्श गर्नका लागि दलहरूलाई बोलाएको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, आयोगले यसअघिका स्थानीय तह निर्वाचनमा वडा सदस्यसम्म प्रतिनिधित्व गरेका राजनीतिक दलहरूलाई छलफलमा सहभागी हुन निमन्त्रणा पठाएको छ।

यद्यपि, आयोगले यसअघि नै निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। यसप्रति केही प्रमुख राजनीतिक दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्। तिनीहरूले दलहरूसँग पूर्वसमन्वय नगरी कार्यतालिका सार्वजनिक गर्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताउदै आएका छन्।

दलहरूको चासोलाई सम्बोधन गर्दै आयोगले अब भने संवादमार्फत निर्वाचन प्रक्रिया थप पारदर्शी र सर्वस्वीकार्य बनाउने प्रयास थालेको देखिएको छ।