स्वदेशी जुत्ताचप्पल उद्योग प्रवर्द्धनमा सरकारको सहजीकरण रहने प्रधानमन्त्री शाहको प्रतिबद्धता
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना र निर्यात विस्तारका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यसँग भएको छलफलमा प्रधानमन्त्री शाहले नेपाली उत्पादनको प्रवर्द्धनमा सरकारको प्राथमिकता रहने बताए।
उनले तीनै तहका सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्ने, नेपाली जुत्ताचप्पलको ब्रान्डिङ, बजार विस्तार तथा प्रवर्द्धनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री शाहले उद्योगको उत्पादन क्षमताअनुसार कच्चापदार्थ आयातको सीमा व्यवस्थापन, ट्र्याकिङ तथा अभिलेख प्रणालीलाई प्रभावकारी बनाउने र स्वदेशी उत्पादनको प्रयोग तथा बजार विस्तारमा विशेष जोड दिने बताए।
छलफलमा एफएमएएनका पदाधिकारीहरूले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, कर तथा भ्याटको दायराबाहिर रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन र गुणस्तरहीन तथा सस्तो आयातित जुत्ताचप्पल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले आयातित जुत्ताचप्पलमा अनिवार्य गुणस्तर परीक्षणको व्यवस्था गर्न तथा उद्योगमैत्री नीति ल्याउन माग गरेका थिए। आवश्यक सरकारी सहयोग, बजार संरक्षण र नीतिगत सुधार भए स्वदेशी जुत्ताचप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने उनीहरूको भनाइ थियो।
छलफलमा एफएमएएनका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता थियो।






