जेनजी आन्दोलनका संयोजकहरूको आरोप : पुराना दलका स्वार्थअनुसार नियुक्ति भइरहँदा सुशासन सम्भव छैन (विज्ञप्ती सहित)

User Image Prime TV News एक महिना अगाडि
Image of जेनजी आन्दोलनका संयोजकहरूको आरोप :  पुराना दलका स्वार्थअनुसार नियुक्ति भइरहँदा सुशासन सम्भव छैन (विज्ञप्ती सहित)

काठमाडौ । जेनजी आन्दोलनका सातै प्रदेश संयोजकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पुराना दलहरूको प्रभावमा भएका राजनीतिक नियुक्ति र सिण्डिकेट प्रणाली कायमै रहँदासम्म देशमा सुशासन र भ्रष्टाचार नियन्त्रण असम्भव हुने बताएका छन्। विज्ञप्ति जारी गर्दै उनीहरूले आन्दोलनको मुख्य म्यान्डेट नै भ्रष्टाचारमुक्त शासन व्यवस्था स्थापना गर्नु रहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, "पुराना दलहरूका स्वार्थअनुरूप राज्यका निकायमा भएका नियुक्ति र सिण्डिकेट कायम रहेसम्म भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चित हुन सक्दैन भन्ने जेनजी विद्रोहको म्यान्डेट हो।"

जेनजी आन्दोलनका संयोजकहरूले हालै आन्दोलनका क्रममा भएको राज्यदमन, हत्या र अत्याचारका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनको मागसमेत गरेका छन्। उनीहरूले आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्दै दोषीहरूलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्।

संयुक्त विज्ञप्तिमा कोशी प्रदेशका संयोजक उपार्जुन चाम्लिङ, सहसंयोजक लक्ष्मी घिमिरे, मधेसका शिव यादव, बागमतीका अफ्साना बानु, गण्डकीका प्रदीप पाण्डे, लुम्बिनीका आदित्य आचार्य, कर्णालीकी सुप्रिया शाही र सुदूरपश्चिमका संयोजक खेराज साउदले हस्ताक्षर गरेका छन्।

संयोजकहरूका अनुसार जेनजी आन्दोलनको उद्देश्य केवल सरकारको विरोध वा सत्तापलट नभई दीर्घकालीन रूपमा राजनीतिक, सामाजिक र आर्थिक सुधार सुनिश्चित गर्नु हो। "हामी व्यवस्था र संविधान विरोधी होइनौं," विज्ञप्तिमा भनिएको छ, "तर संविधानभित्रका त्रुटि र कमजोरीलाई सच्याउँदै मुलुकलाई दीर्घकालीन समाधान दिने हाम्रो राजनीतिक अभिभारा हो।"

उनीहरूले देशलाई अस्थिरता र अराजकतर्फ लैजाने प्रयत्न भइरहेका भन्दै त्यस्ता गतिविधिको प्रतिकार गर्ने चेतावनी पनि दिएका छन्।