चालु आर्थिक वर्षमा १ हजार ९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा जाने
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । चालु आर्थिक वर्ष २०८३/८४ मा १ हजार ९८५ जना निजामती कर्मचारीले उमेर हद तथा सेवा अवधि पूरा गरी अनिवार्य अवकाश पाउने भएका छन्।
राष्ट्रिय किताबखानाका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कार्यरत ९२ हजार ५२० निजामती कर्मचारीमध्ये २० जना विशिष्ट श्रेणी (सचिव वा सो सरह), ८७ जना सहसचिव, २०६ जना उपसचिव, ३२० जना शाखा अधिकृत, ७७३ जना सहायकस्तरका तथा ५७९ जना श्रेणीविहीन कर्मचारी चालु आर्थिक वर्षमा अवकाशमा जानेछन्।
किताबखानाले राष्ट्रिय किताबखाना (निजामती) कार्यसञ्चालन दिग्दर्शन, २०७२ अनुसार अनिवार्य अवकाश पाउने कर्मचारीहरूको सूची तयार गरेको जनाएको छ। निजामती सेवाबाहेकका अन्य सरकारी सेवाका कर्मचारी भने यस सूचीमा समावेश छैनन्।
अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश मितिभन्दा कम्तीमा छ महिना अगावै आवश्यक फाराम भरी आफू कार्यरत कार्यालयमार्फत राष्ट्रिय किताबखानामा पेश गर्नुपर्ने व्यवस्था छ। किताबखानाले सम्बन्धित कार्यालयलाई अवकाशसम्बन्धी सूचना पनि पठाउने जनाएको छ।
यस वर्ष अवकाश पाउने विशिष्ट श्रेणीका कर्मचारीमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा, युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्याल, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरजुकुमार वैद्यलगायत विभिन्न मन्त्रालय तथा निकायका २० जना उच्चपदस्थ कर्मचारी रहेका छन्।
गत आर्थिक वर्ष २०८२/८३ मा २ हजार २११ जना निजामती कर्मचारी अनिवार्य अवकाशमा गएका थिए। त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा २ हजार ११९ जना र २०८०/८१ मा २ हजार २६० जना कर्मचारीले सेवा निवृत्ति पाएका थिए।






