अघि बढ्ने प्रयासमा एमाले, चुनौतीसँग नआत्तिने ओलीको दाबी
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई अझै पनि राजनीतिक रूपमा एक्ल्याउने प्रयास भइरहेको बताएका छन्।
उनले एमाले अरूको सहारामा अघि बढ्ने नभई आफ्नै बलमा अघि बढ्ने स्वतन्त्र राजनीतिक शक्ति भएको दाबी गरे। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेले विभिन्न चुनौती र धक्का बेहोरे पनि पार्टी समाप्त नभएको बताए।
“हामीले धक्का खाएका छौं, तर सिद्धिएका छैनौं। हामी नवीकृत भएर अघि बढ्नेछौं,” उनले भने, “हामीलाई एक्ल्याउने प्रयास अझै पनि निरन्तर भइरहेको छ।”
ओलीले एमालेलाई आँधी, हुरी, तुफान र बाढीजस्ता अनेक चुनौतीको सामना गर्दै विकसित भएको पार्टीको संज्ञा दिँदै अरूको सहाराबिना उभिन नसक्ने अवस्थामा आफूहरू नरहेको बताए। उनका अनुसार एमाले आफ्नै संगठन, विचार र जनआधारका आधारमा स्थापित स्वतन्त्र पार्टी हो।
उनले परिस्थिति जस्तोसुकै भए पनि एमाले आफ्नै बलमा अघि बढ्ने र चुनौतीहरूको सामना गर्दै सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे। अध्यक्ष ओलीले अनुकूल परिस्थितिमा मात्र उत्साहित हुने र प्रतिकूल अवस्थामा निराश हुने प्रवृत्ति एमालेमा नरहेको उल्लेख गर्दै पार्टीले आगामी दिनमा पनि दृढतापूर्वक आफ्नो राजनीतिक यात्रा जारी राख्ने बताए।







