महेश बस्नेतको चुनौती : समातेर देखाउनुस, म जेल जान तयार छु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता महेश बस्नेतले हालैको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूको निष्पक्ष छानबिनको माग गर्दै सरकार र जाँचबुझ आयोगप्रति कडा टिप्पणी गरेका छन्। उनले कारबाहीका नाममा प्रतिशोधको राजनीति चलाइएको आरोप समेत लगाएका छन्।
बस्नेतले पत्रकार सम्मेलन गर्दे, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई चुनौती दिएका हुन्। उनले आन्दोलनका क्रममा १२ हजारभन्दा बढी हतियार लुटिएको, ५ सय भन्दा बढी प्रहरी चौकी जलाइएको र १४ हजार कैदी फरार भएको जस्ता घटनाहरूबारे छानबिन हुनुपर्ने बताए। “यी सबै अपराधजन्य गतिविधिमा संलग्नहरूको खोजी र कारबाही कहिले हुन्छ?” भन्ने प्रश्न गर्दै उनले राज्य संयन्त्रको निष्क्रियता औंल्याए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू, विशेषगरी डीपी अर्याल, मनिष झा र ज्वाला सङ्ग्रौलाले नक्खु कारागार घटनामा भूमिका खेलेको आरोप लगाउँदै उनीहरूलाई पनि छानबिनको दायरामा ल्याउन माग गरे।
बस्नेतले गृहमन्त्रीमाथि पनि व्यङ्ग्य गर्दै भने, “प्रहरीलाई जिउँदै जलाउनेहरू उम्किरहेका छन्, गृहमन्त्री भने सुदन गुरुङलाई गुलेली खेलाउन व्यस्त छन्।” उनले कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालसँग जोडिएका विषयमा पनि छानबिन गर्नुपर्ने तर्क गरे।
यसै क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीमाथि प्रतिशोधको राजनीति सञ्चालन गरिरहेको आरोप लगाए। बस्नेतले आफूलाई सरकारले षड्यन्त्रपूर्वक गिरफ्तार गर्न खोजेको आरोप लगाउँदै भने, “सरकारको पहिलो निशाना केपी ओली, दोस्रो ज्ञानेन्द्र शाही, अनि तेस्रो म। हुदै नभएको मुद्दा बनाएर मलाई फसाउने प्रयास भयो, तर अदालतले अस्वीकार गर्यो।”













