बर्डफ्लु नियन्त्रणपछि जावलाखेलको सदर चिडियाखाना पुनःखुला

User Image Prime TV News ४ दिन अगाडि
Image of बर्डफ्लु नियन्त्रणपछि जावलाखेलको सदर चिडियाखाना पुनःखुला

काठमाडौ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनःसञ्चालनमा आएको छ।

काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि गत असार ५ गतेदेखि बन्द गरिएको चिडियाखाना सङ्क्रमण नियन्त्रणपछि खोलिएको हो। चिडियाखाना प्रशासनका अनुसार बिरामी पक्षीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि गरिएको वातावरणीय नमुना परीक्षणमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) भाइरस नदेखिएपछि पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो।

पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले बिहीबार चिडियाखाना खोल्ने निर्णय गरेको थियो।चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म प्रवेशका लागि खुला रहनेछ भने आगन्तुकले बेलुका ५ बजेसम्म बाहिरिसक्नुपर्नेछ।

व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। सङ्क्रमित देखिएका केही खोरलाई रातो रिबनले घेरिएको भन्दै ती क्षेत्रमा अनावश्यक रूपमा नबस्न अनुरोध गरिएको छ। त्यस्तै, आगन्तुकलाई खुला स्थानमा खानेकुरा नखान, फोहर तोकिएको स्थानमा फाल्न र अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि आग्रह गरिएको छ।