ट्रम्पले अमेरिकी निर्वाचनमा चीनको हस्तक्षेपबारे नयाँ अनुसन्धान गर्न निर्देशन
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी निर्वाचनमा चीनको हस्तक्षेप भएको दाबी गर्दै त्यसबारे नयाँ अनुसन्धान गर्न राष्ट्रिय गुप्तचर निर्देशक र संघीय अनुसन्धान ब्युरो (एफबीआई)लाई निर्देशन दिएका छन्। साथै, यससँग सम्बन्धित गोप्य गुप्तचर दस्ताबेज सार्वजनिक गर्ने घोषणा पनि गरेका छन्।
ह्वाइट हाउसमा बोल्दै ट्रम्पले चीनले सन् २०२० को निर्वाचन प्रक्रियासँग सम्बन्धित करिब २२ करोड अमेरिकी मतदाताको अभिलेखमा पहुँच हासिल गरेको आरोप लगाए। उनका अनुसार यस घटनाले अमेरिकी निर्वाचन प्रणाली हेरफेर र भ्रष्टाचारको जोखिममा रहेको देखाएको छ।
ट्रम्पले संघीय निकायहरूलाई डाटा चुहावटको वास्तविक अवस्था पत्ता लगाउन र प्रभावित हुन सक्ने राज्यहरूलाई जानकारी गराउन निर्देशन दिएको बताए। साथै, निर्वाचन सुरक्षालाई थप मजबुत बनाउन मतदाता परिचयपत्र अनिवार्य गर्ने व्यवस्था समेटिएको ‘सेभ अमेरिका एक्ट’ पारित गर्न अमेरिकी कंग्रेससँग पुनः आग्रह गरेका छन्।
सम्बोधनका क्रममा ट्रम्पले आफ्नो भाषण प्रत्यक्ष प्रसारण नगर्ने केही टेलिभिजन नेटवर्कको आलोचना गर्दै त्यस्ता सञ्चारमाध्यमको प्रसारण इजाजतपत्र खारेज गर्नुपर्ने टिप्पणी पनि गरेका छन्। यसैबीच, ह्वाइट हाउसले निर्वाचन हस्तक्षेपसम्बन्धी दाबीसँग सम्बन्धित दस्ताबेज आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ।







