राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर चासो, सरकारलाई संयमतापूर्वक कदम चाल्न निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले हाल देशमा उत्पन्न राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल सरकारलाई संयमतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले विशेषगरी जेनजी पुस्ताद्वारा घोषणा गरिएको आगामी प्रदर्शन तथा त्यससँग सम्बन्धित गतिविधिबाट शान्ति–सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावप्रति चिन्ता व्यक्त गरेको छ।
आयोगले विभिन्न समूह, राजनीतिक दल तथा व्यक्तिहरूबाट सार्वजनिक रूपमा व्यक्त भइरहेका विचार, वक्तव्य र अभिव्यक्तिले मानव अधिकार अभ्यासमा अवरोध सिर्जना गर्न सक्ने अवस्था देखिएकाले त्यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
विज्ञप्तिमा आयोगले हिंसात्मक गतिविधि, नकारात्मक टीकाटिप्पणी तथा घृणायुक्त अभिव्यक्तिहरूले सामाजिक सद्भाव विथोलिने, नागरिकबीच द्वन्द्व बढ्ने र राजनीतिक वातावरण अशान्त हुने जोखिम रहेको स्पष्ट पारेको छ।













