साउने सङ्क्रान्ति आज, स्नान, दान र शिवपूजासहित देशभर मनाइँदै
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक अनुष्ठान गरी मनाइँदै छ।
सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाइन्छ। यसै दिनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले दक्षिणायन सुरु हुने धार्मिक विश्वास छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ।
साउने सङ्क्रान्तिसँगै नेपाली समाजमा ‘लुतो फाल्ने’ परम्परासमेत प्रचलित छ। असारभर खेतीपातीमा व्यस्त रहने क्रममा हिलोमैलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्ने विश्वासका साथ यो परम्परा मनाइने गरिन्छ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारकको पूजा गर्ने तथा अगुल्टो फाल्ने चलन रहेको छ। यस अवसरमा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने परम्परा पनि विभिन्न समुदायमा कायम छ।
साउन महिना भगवान् शिवको विशेष आराधनाको महिनाका रूपमा पनि मनाइन्छ। यस अवसरमा भक्तजनले शिवालयमा पुगेर पूजा–आराधना गर्ने गर्छन्। पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।
साथै, महिलाले हरियो चुरा, हरिया वस्त्र र मेहन्दी लगाएर साउन महिनाको स्वागत गर्ने सांस्कृतिक परम्परा पनि आजदेखि सुरु भएको छ।







