साउन १ देखि निजी अस्पतालमा उपचार महँगो, ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । साउन १ गतेदेखि निजी अस्पताल तथा अन्य निजी स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीले उपचारमा थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ।
सरकारले आर्थिक विधेयक, २०८३ मार्फत निजी स्वास्थ्य सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लागू गर्ने व्यवस्था गरेसँगै नयाँ आर्थिक वर्षदेखि यो शुल्क कार्यान्वयनमा आउने भएको हो। यसअनुसार निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला (ल्याब) तथा निजी मेडिकल कलेजबाट उपचार सेवा लिने बिरामीले सबै प्रकारका सेवा शुल्कमा अतिरिक्त ३ प्रतिशत रकम तिर्नुपर्नेछ।
आर्थिक विधेयकमा उक्त शुल्कबाट संकलन हुने रकम गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार तथा स्वास्थ्य पूर्वाधार निर्माणमा खर्च गरिने उल्लेख छ। विधेयकअनुसार निजी स्वास्थ्य संस्थाले बिरामीबाट संकलन गरेको स्वास्थ्य समता शुल्कको विवरणसहित रकम प्रत्येक चौमासिक अवधि समाप्त भएको २५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ।







