लिङ्देनको माग: गृहमन्त्रीको राजीनामा या छानबिन समिति गठन
Prime TV News १० महिना अगाडि 
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिनुपर्ने माग गरेका छन्। उनका अनुसार गृहमन्त्रीले पदमा बसेर अनुसन्धानमा प्रभाव पार्न नहुने भएकाले यदि नैतिकता बाँकी छ भने तुरुन्तै राजीनामा दिनुपर्छ।
उनले राजीनामा नदिएको खण्डमा पनि घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति अनिवार्य रूपमा गठन हुनुपर्ने बताएका छन्। लिङ्देनले भने, “हामीले भनेका हौं– यदि गृहमन्त्रीमा नैतिकता छ भने राजीनामा दिनुपर्छ, नदिने हो भने पनि निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्छ।”
भिजिट भिसा प्रकरणबारे सरकारको उदासीनताप्रति असन्तुष्टि जनाउँदै राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले संसद बहिष्कार गर्दै आएका छन् । यी दुई दलका सांसदहरू सदनमा आफ्नो धारणा राखेपछि बहिष्कार गर्ने रणनीतिमा छन्।
अध्यक्ष लिङ्देनले सरकारले निरन्तर रूपमा जनताका चासोलाई बेवास्ता गरिरहेको आरोप पनि लगाए । उनले चेतावनी दिँदै भने, “सरकारको बेवास्ता नेपाली जनताले हेरेका छन्, हामी यो संसदीय सत्रमा विरोध जारी राख्नेछौं, आवश्यकता परे सडक आन्दोलनमा जान पनि पछि हट्दैनौं।”
उनका अनुसार यदि सरकारले छानबिनका लागि आयोग गठन नगरेमा, राप्रपा र रास्वपा सडक संघर्षमा उत्रन सक्ने अवस्था बन्नेछ।







