सरकार–मिटरब्याज पीडितबीच तेस्रो चरणको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने

User Image Prime TV News ५ दिन अगाडि
Image of सरकार–मिटरब्याज पीडितबीच तेस्रो चरणको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने

काठमाडौ । सरकार र मिटरब्याज पीडितबीच बुधबार साँझ भएको तेस्रो चरणको वार्ता कुनै सहमतिबिना टुंगिएको छ।

दुवै पक्षबीच सहमति नजुटेपछि पीडितहरूले आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। बाराको निजगढमा मध्यरातिसम्म चलेको वार्तामा सरकारी टोलीले आन्दोलन स्थगित गरेर काठमाडौंमा अन्तिम सम्झौता गर्ने प्रस्ताव राखेको थियो।

तर मिटरब्याज पीडितहरूले लिखित सम्झौता नभएसम्म आन्दोलन स्थगित गर्न नसकिने अडान दोहोर्‍याएका छन्। सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री सुधन गुरुङले सहमति हुनुअघि नै आन्दोलन रोक्न आग्रह गरेका थिए। तर पीडित पक्षले हस्ताक्षरसहितको लिखित सम्झौतापछि मात्रै आन्दोलन स्थगित गर्ने स्पष्ट पारेको छ।

मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले सम्झौता नभएसम्म वार्ता र आन्दोलन सँगसँगै अघि बढ्ने बताए। उनका अनुसार आन्दोलनको आगामी कार्यक्रमबारे संघर्ष समितिको सचिवालय बैठकले निर्णय गर्नेछ।

सरकारी पक्षले पीडितका अधिकांश माग स्वीकार गर्न सकिने तर केही भाषागत विषय संशोधन गर्नुपर्ने प्रस्ताव राख्दै काठमाडौंमा अन्तिम सहमति गर्ने सुझाव दिएको थियो।

जनकपुरबाट आफ्ना मागसहित काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितसँग यसअघि पनि दुई चरणको वार्ता भए पनि अहिलेसम्म औपचारिक सहमति हुन सकेको छैन।

पीडितहरूले हस्ताक्षर भएको मितिदेखि मात्रै सम्झौता लागू हुने भएकाले आधिकारिक लिखित सहमतिपछि मात्र आन्दोलन स्थगित गर्ने अडान कायम राखेका छन्।