आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

User Image Prime TV News ५ दिन अगाडि
Image of आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार देशभर मनसुनी वायु सक्रिय रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालका तराई भूभागनजिक र पूर्वमा सरदर स्थान आसपास रहेकाले वर्षाको प्रभाव कायम रहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार कोसी र वाग्मती प्रदेशका हिमाली क्षेत्र, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ।

रातिको समयमा पनि देशभर बदली रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाड तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र कमजोर भौगोलिक बनोट भएका स्थानमा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।