सप्तकोसीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २१ ढोका खोलियो

User Image Prime TV News ५ दिन अगाडि
Image of सप्तकोसीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २१ ढोका खोलियो

काठमाडौ । लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ।

गएराति अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको प्रहरीले जनाएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पूर्वी नेपालमा वर्षा जारी रहेकाले नदीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ।

बढ्दो बहावलाई मध्यनजर गर्दै कोशी ब्यारेजका ५६ मध्ये २१ वटा ढोका खोलिएको छ। ब्यारेजमा ५२ वटा मूल ढोका र चार वटा नहरका ढोका रहेका छन्।

कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि उच्च जोखिमको सङ्केतस्वरूप ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने व्यवस्था गरिएको छ।

वर्षायाममा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने भारी वर्षाका कारण सप्तकोसीसहित विभिन्न नदीमा पानीको सतह बढ्ने र नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ्ने गर्दछ।

तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको पानी मिसिएर बनेको सप्तकोसी वर्षायाममा अत्यधिक बहावका कारण संवेदनशील नदीका रूपमा चिनिन्छ। अधिकारीहरूले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।