सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन रोक्न सर्वोच्चको अन्तरिम आदेश
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रक्रिया तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मणिराम उपाध्यायले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सम्पत्ति छानबिन आयोगको कामकारबाही स्थगित गर्न अन्तरिम आदेश दिएको हो।
यसअघि गत शुक्रबार पनि सर्वोच्चले आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो। तर आदेशको व्याख्या स्पष्ट नभएको भन्दै आयोगले पूर्वन्यायाधीश र पूर्वसैनिकबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन भने यथावत् रहने सूचना जारी गरेको थियो।
बुधबारको नयाँ आदेशसँगै सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त सबै व्यक्तिको सम्पत्ति छानबिनसम्बन्धी आयोगको कामकारबाही अर्को आदेश नआउञ्जेलका लागि रोकिएको छ।







