गृहमन्त्रीसँगको वार्तापछि मिटरब्याज पीडित प्रतिवेदनको प्रतीक्षामा, सार्वजनिक नभए पैदल यात्रा जारी गर्ने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौतर्फ आएका मिटरब्याज पीडितहरू गृहमन्त्री सुधन गुरुङसँगको छलफलपछि सरकारले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतीक्षामा बसेका छन्।
छ दिनको पैदल यात्रा गर्दै बाराको निजगढ पुगेका पीडितहरू मंगलबार बिहान काठमाडौंतर्फ अघि बढ्न लागेका बेला स्थानीय प्रहरीले गृहमन्त्री भेट्न चाहेको जानकारी दिएपछि उनीहरू त्यहीँ रोकिएका थिए।
पीडितहरूसँग छलफल गर्दै गृहमन्त्री गुरुङले सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउँदै थप माग भए लिखित रूपमा पेस गर्न आग्रह गरेका थिए। आफू केही दिन यही क्षेत्रमा रहने भएकाले सकेसम्म यहीबाट समाधान खोज्ने प्रयास गर्ने उनको भनाइ थियो।
आन्दोलनका अगुवा मनोज पासवानले भने विगतमा भएका वार्ता र सहमति कार्यान्वयन नभएकाले यसपटक पहिले आयोगका प्रतिवेदन सार्वजनिक हुनुपर्ने अडान राखे। उनका अनुसार प्रतिवेदन सार्वजनिक भएपछि त्यसका आधारमा थप मागहरू लिखित रूपमा सरकारलाई बुझाइनेछ।
छलफलकै क्रममा गृहमन्त्री गुरुङले गृह मन्त्रालयलाई फोन गरी मिटरब्याजसम्बन्धी अध्ययन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका थिए। तर समाचार तयार पार्दासम्म उक्त प्रतिवेदन सार्वजनिक भएको थिएन।
पासवानले प्रतिवेदन सार्वजनिक नभए भोलिपल्टदेखि पुनः काठमाडौंतर्फ पैदल यात्रा सुरु गर्ने चेतावनी दिए। उनका अनुसार बाटोमै माग सम्बोधन भए आन्दोलन टुंगिने सम्भावना भए पनि त्यसका लागि ठोस निर्णय आवश्यक छ।
मिटरब्याज पीडितको आन्दोलनपछि अघिल्ला सरकारले गौरीबहादुर कार्की, तेजबहादुर कार्की र बाबुराम रेग्मीको नेतृत्वमा छुट्टाछुट्टै अध्ययन आयोग गठन गरेको थियो। तीमध्ये गौरीबहादुर कार्की आयोगले मात्रै प्रतिवेदन सरकारलाई बुझाएको छ भने अन्य दुई आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन।







