कांग्रेसको आन्तरिक विवाद समाधान अझै अन्योलमा, कार्यसमिति गाभ्ने प्रस्तावमै अड्कियो सहमति

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेसको आन्तरिक विवाद समाधान अझै अन्योलमा, कार्यसमिति गाभ्ने प्रस्तावमै अड्कियो सहमति

काठमाडौ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुने संकेत अझै देखिएको छैन।

संस्थापन र इतर पक्षबीच सहमतिको प्रयास जारी रहे पनि विशेष महाधिवेशनपछि बनेको कार्यसमिति र १४औँ महाधिवेशनको कार्यसमिति गाभ्ने विषयमा मतभेद कायम रहेको छ। इतर पक्षका नेताहरूले पार्टीलाई एकताबद्ध बनाउने वा विभाजनतर्फ जाने अवस्था सिर्जना हुने जिम्मेवारी सभापति गगनकुमार थापाको काँधमा रहेको बताएका छन्।

उनीहरूको भनाइ छ, सभापतिले पहल गरे पार्टीभित्र सहमति सम्भव भए पनि चासो नदिए विशेष महाधिवेशनबाहिर रहेका नेता–कार्यकर्ता पार्टीको मूल संरचनाबाट बाहिर रहने अवस्था आउन सक्छ। यता, उपसभापति विश्वप्रकाश शर्मानिकट नेता मदन कट्टेलले इतर पक्षको प्रस्ताव व्यवहारिक नभएको बताएका छन्।

उनका अनुसार १४औँ महाधिवेशनको कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई गाभ्ने प्रस्ताव स्वीकार गरिए विशेष महाधिवेशनको औचित्य नै समाप्त हुने अवस्था आउँछ। उनले अन्य समितिमा सबै पक्षलाई समेट्ने प्रयास भइरहेको दाबी गरे। इतर पक्षका नेता पूर्णबहादुर खड्काले अघि सारेको आठबुँदे प्रस्तावमध्ये कार्यसमिति गाभ्ने विषय नै सहमतिको मुख्य बाधा बनेको संस्थापन पक्षको बुझाइ छ।

राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेलले इतर पक्षले अनावश्यक अडान लिएको टिप्पणी गरेका छन्। उनका अनुसार संस्थापन पक्षले सहकार्यका लागि प्रतिबद्धता जनाइरहेकाले पुरानो संरचना पुनर्स्थापित गर्ने मागले पार्टीभित्रको विवाद लम्ब्याउने जोखिम छ।

पोखरेलले कांग्रेस एकताबद्ध हुनु पार्टी र लोकतन्त्र दुवैका लागि आवश्यक भए पनि निरन्तर भागबन्डा र अस्वस्थ शक्ति–सन्तुलनको राजनीति पार्टीका लागि दीर्घकालीन रूपमा हानिकारक हुने बताए। सहमति सम्भव नभए स्पष्ट राजनीतिक बाटो रोज्नु पनि विकल्प हुन सक्ने उनको धारणा छ।

संस्थापन पक्षले अन्य अधिकांश विषयमा लचिलो हुन सकिने संकेत दिए पनि कार्यसमिति गाभ्ने प्रस्ताव स्वीकार गर्न कठिन हुने बताउँदै आएको छ। त्यसैले कांग्रेसको आन्तरिक विवाद कुन दिशामा अघि बढ्छ भन्ने विषय अझै अन्योलमै रहेको छ।