गाडी पार्किङ प्रकरणमा रास्वपा मौन, विपक्षीले संसदमा उठाए प्रश्न
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । काठमाडौंका विभिन्न स्थानमा भएको शंकास्पद गाडी पार्किङ प्रकरण प्रतिनिधिसभा बैठकमा उठे पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले यस विषयमा धारणा राखेनन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले सञ्चारमाध्यमका कार्यालय, नेपाली कांग्रेसका सभापति गगन थापाको निवास र भाटभटेनी क्षेत्रमा गरिएको शंकास्पद गाडी पार्किङको विषय उठाएका थिए। तर रास्वपाका सांसदहरूले आफ्नो सम्बोधनका क्रममा अन्य विषय उठाए पनि यस प्रकरणबारे बोलेनन्।
रास्वपा सांसद अमरेशकुमार सिंहले संसद्मा नागरिकमा बढ्दो निराशा, आत्मदाहका घटना र राष्ट्रिय सहमतिको आवश्यकताबारे धारणा राखे। उनले लोकतन्त्र र राज्य व्यवस्था जोगाउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए।
त्यस्तै, रास्वपाका सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका समस्या, विद्युत् अवरोध, दुर्घटना, जनसुरक्षा र स्थानीय समस्याबारे सरकारको ध्यानाकर्षण गराए। तर हालैका शंकास्पद गाडी पार्किङ घटनाबारे भने कुनै सांसदले प्रश्न उठाएनन्।
यसअघि नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद रमेशकुमार मल्लले मिडिया हाउस र राजनीतिक नेतृत्वमाथि त्रास सिर्जना गर्ने उद्देश्यले राज्य संरक्षित व्यक्तिहरूबाट गतिविधि भएको आरोप लगाएका थिए। त्यसमा रास्वपा सांसद टिका संग्रौलाले नियमापत्ति गर्दै कुनै एक व्यक्तिको गतिविधिलाई लिएर सिंगो राज्यलाई दोष दिन नमिल्ने बताएकी थिइन्।
सोमबार बिहान काठमाडौंका विभिन्न स्थानमा सञ्चारमाध्यमका कार्यालय र कांग्रेस सभापति गगन थापाको निवासअगाडि प्रवेशमा अवरोध हुने गरी गाडी पार्किङ गरिएको थियो। घटनापछि सम्बन्धित पक्षले प्रहरीलाई जानकारी गराएका थिए भने प्रहरीले गाडीधनीको खोजी तथा अनुसन्धान थालेको जनाएको छ।







