ट्राफिक जरिवानामा २५ प्रतिशत कमिसनको दाबीप्रति प्रहरीको आपत्ति

User Image Prime TV News १ हप्ता अगाडि
Image of ट्राफिक जरिवानामा २५ प्रतिशत कमिसनको दाबीप्रति प्रहरीको आपत्ति

काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधु चौलागाईले ट्राफिक जरिवानासँग जोडेर दिएको अभिव्यक्तिप्रति प्रहरीले आपत्ति जनाएको छ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद चौलागाईले ट्राफिक प्रहरीले जरिवाना गराउन सक्रिय हुनुको कारण २५ प्रतिशत कमिसन रहेको दाबी गरेका थिए । उनले नो इन्ट्रीलगायतका स्थानमा सचेत गराउनुको सट्टा जरिवाना काट्नकै लागि निगरानी गर्ने गरेको आरोप लगाएका थिए । 

उक्त अभिव्यक्ति सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयस्थित आईजीपी सचिवालयले विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले जरिवाना असुल गरेबापत २५ प्रतिशत विशेष भत्ता वा कमिसन पाउने भन्ने कुरा गलत र भ्रमपूर्ण भएको जनाएको छ। प्रहरीले ट्राफिक जरिवानाबापतको रकम सिधै सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था रहेको स्पष्ट पारेको छ।

आधिकारिक तथ्यबिना अनुमानका आधारमा गरिने टिप्पणीले सार्वजनिक संस्थाप्रति नागरिकको विश्वासमा असर पर्न सक्ने भन्दै प्रहरीले यस्ता अपुष्ट सूचनाबाट सचेत रहन आग्रह गरेको छ। प्रहरीले ट्राफिक व्यवस्थापन र कारबाही कानुनअनुसार हुने उल्लेख गर्दै जरिवानासम्बन्धी प्रक्रिया पारदर्शी रहेको दाबी गरेको छ।